मन्त्रिपरिषद् पुनर्गठनलगत्तै ठूलो संख्यामा सचिवको सरुवा

काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठनलगत्तै सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीहरूले शपथ गरेलगत्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । यसअघि पनि संघीयमा रहेका कोइरालालाई पुन संघीय मामिला मन्त्रालयमा नै ल्याइएको छ ।

बिज्ञापन

यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।