सरकारले लोकतन्त्र र संघीय गणतन्त्र हटाउन खोज्यो : उपेन्द्र यादव

जनकपुर : जनता समाजवादी पार्टीले ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने सरकारको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने सरकारको निर्णय मुलुकलाई प्रतिगमनतर्फ लैजाने चेष्टा भएको आरोप लगाउँदै अध्यक्ष यादवले सरकारले यो निर्णय फिर्ता नलिए आन्दोलन गर्ने पनि चेतावनी दिएका हुन् ।

‘सरकारको नियत नै नेपालमा लोकतन्त्र र संघीय गणतन्त्र हटाउनु नै हो । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पारेर मुलुकलाई प्रतिगमनतर्फ लैजान चाहेको छ,’ उनले भने ।

नेपाली जनताको वर्षौंदेखि संघर्ष, त्याग र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, नागरिक अधिकार, मौलिक हकलगायतका संवैधानिक व्यवस्थालाई ओली सरकारले कुल्चन खोजेको दाबी गरे ।

उनले जनताको बलिदानले स्थापित राजनीतिक उपलब्धि र अधिकारलाई समाप्त पारेर फेरि पुरानै निरकुंशतातिर लैजाने चेष्टा हुँदै गरेको बताए ।