
नेपाल रेडक्रस सोसाइटीले पूर्वअध्यक्ष संजीव थापाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा मुद्दा दर्ता गराएको छ । चिनियाँ रेडक्रसको सहयोगमा भक्तपुरको दुधपाटीमा केन्द्रीय गोदाम घर निर्माण गर्न खरिद गरिएको ५ रोपनी १३ आना ३ पैसा (९३ आना ३ पैसा) जग्गामा ठूलो आर्थिक हिनामिना भएको छानविनको निष्कर्षपछि थापाविरुद्ध सिआइबीमा मुद्दा दायर भएको हो । थापासँगै जग्गा दलालीमा संलग्न भक्तपुर नगरपालिका वडा नम्बर ४ निवासी राजेश देशेमरु विरुद्ध समेत मुद्दा दर्ता गरेको छ ।
थापा नेतृत्वको कार्यसमिति भ्रष्टाचारमा संलग्न भएको देखिएपछि गत साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई बर्खास्त गर्दै डा. नेत्र तिमिल्सिनाको संयोजकत्वमा ३३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको थियो । यो कार्य समितिले जग्गाको यथार्थ विवरण पत्ता लगाउन सहकोषाध्यक्ष होमप्रसाद पाठकको संयोजकत्वमा छानविन समिति बनाएको थियो । समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट अनुमति लिएर अमिन लगेर जग्गाको नापजाँच गरेको थियो ।
छानविन समिति संयोजक एवं रेडक्रस सोसाइटीका सह–कोषाध्यक्ष पाठकका अनुसार अमिन लगेर जग्गाको नापजाँच गर्दा ६ आना ३ दाम कम भेटियो । भन्छन्, ‘जग्गा नै कम भेटिएपछि यही मंसिर २६ गते गृह मन्त्रालयमार्फत सिआइबीमा ठगी मुद्दा दर्ता गराएको छौं ।’ थापा नेतृत्वको कार्य समितिले ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रुपैयाामा उक्त जग्गा खरिद गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको छानविनमा देशेमरुले जग्गा खोजि दिए वापत कमिसन मात्र एक करोड ९२ लाख रुपैयाँ लिएको बयान दिएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत एक वर्ष अघि नै थापा बिरुद्ध सिआइबीमा ठगी मुद्दा दर्ता गरेको थियो । तर, सिआइबीले ठगी प्रमाणित नभएको भन्दै तामेलीमा राखेको थियो
कसरी भयो ठगी ?
०७२ बैशाखको विनासकारी भूकम्पपछि नेपाल रेडक्रसलाई केन्द्रीय स्तरमा ठूलो गोदाम घर आवश्यक पर्यो । गोदाम घर नभएकाले दाताहरूबाट प्राप्त सहयोग सामग्री विमानस्थलमै अलपत्र परे । यही कारण विमानको उडान/अवतरणमा समेत समस्या आइलाग्यो । यसपछि चिनियाा रेडक्रसले नेपाल रेडक्रसलाई गोदाम घर निर्माण गरिदिने वचन दियो । त्यसका लागि हतार–हतार जग्गा खरिद प्रक्रिया अगाडि बढाइयो । २२ भदौ ०७२ मा जग्गाको प्रस्ताव माग्दै पत्रिकामा सूचना प्रकाशित गरियो । जानकारका अनुसार रेडक्रस पदाधिकारीले पत्रिकामा विज्ञापन गरेकै दिनदेखि बदनियत सुरु गरे । सामान्यत: जग्गाका लागि बोलपत्र आह्वान गर्दा ५, १०, १५ वा २० किमिको दूरी किटान गरिन्छ । तर रेडक्रसले १६.५ किमि आसपास मुल सडकले छोएको जग्गा चाहिने बोलपत्र आव्हान गरेको थियो । यसो गर्नुको उदेश्य मिलेमतोमा जग्गा खरिद गरेर आर्थिक चलखेल गर्नु थियो अर्थात पहिले नै सेटिङ मिलाएर बोलपत्र आह्वान गरिएको थियो ।