
काठमाडौं : कोरोना महामारीका कारण बन्द भएको सवारी चालक अनुमतिपत्र (ट्रायल) पुस अन्तिम साताबाट खुल्ने भएको छ । ११ चैत २०७६ पछि बन्द भएको सवारीचालक अनुमतिपत्र (ट्रायल) प्रदेश सरकारको तीव्र दबाबपछि सरकारले खुला गर्न लागेको हो । यातायात व्यवस्था विभागले पुसको अन्तिमसम्ममा ट्रायल खुला गर्ने तयारी रहेको जनाएको छ ।यसअघि विभाग र प्रदेशबीचको कुरा नमिल्दा अहिलेसम्म रोकिएको थियो । प्रदेशबाट विभागलाई खोल्नका लागि तारन्तार दबाब दिएपछि खोल्ने तयारीमा विभाग जुटेको हो ।

कोरोना महामारीले नौ महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ । सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।



सवारीचालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यसअन्तर्गतका यातायात कार्यायलबाट हुने भएकोले सोहीअनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको विभागले जनाएको छ । सवारी चालक अनुमति पत्र दुवै प्रकारको सवारी साधन (चारपाङ्ग्रे र दुईपाङ्ग्रे)को परीक्षा खुल्ने गरी तयारी भइरहेको पनि भुसालले बताए ।
