प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

बिज्ञापन

उहाँले दुई देशबीच सदिऔँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

गएको बुधवार नेपाल आउनुभएका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नु भएको थियो । तीन दिने नेपाल भ्रमणमा रहनुभएका नरवणे शुक्रबार नै स्वदेश फर्कनु हुनेछ ।