जाजरकोटमा खानेपानी मन्त्री थापालाई देखाइयो कालो झण्डा

काठमाडौं : खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड–माधव समूहका अनेरास्ववियूले कालो झण्डा देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई विद्यार्थी नेताहरुले कालो झण्डा देखाका हुन् ।

जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका–४ मा अनेरास्ववियू कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि तत्कालिन माओवादी केन्द्रका नेता थापा खानेपानी मन्त्री नियुक्त भएका हुन् ।

संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको अनेरास्ववियूले सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने देखि प्रधानमन्त्रीको पुत्ला दहनसम्मको कार्यक्रम तय गरेका छन् ।

सरकारको असंवैधानिक र जनघाती कदम नसच्चिएसम्म सडक संघर्षका कार्यक्रम जारी राख्ने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताएका छन् । अनेरास्ववियूले प्रतिनिधिसभा विघटनविरुद्ध सडक वहस, बयलगाडा प्रदर्शन, प्रतिगमनबिरुद्ध सडक कविता गीत र गजल लगायतका कार्यक्रम समेत गर्ने मंगलबार घोषणा गरेको छ ।