
जुम्ला/ जुम्लाको तातोपानी गाउँपालिका – १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार वडामा करिब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएका हुन् । स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले खाएपछि किसान चिन्तित भएका वडाध्यक्ष प्रेमबहादुर कठायतले बताए । उनले भने, ‘पानीको चरम अभाव भएको सो वडाको तरापी गाउँका किसानले बोकेरै सिँचाइ गरेर हुर्काएका एक हजार बढी स्याउका बिरुवा नष्ट भएका छन् ।’
गाउँका चार जना किसानको बगैँचामै आगलागी भएको छ । स्याउका बिरुवासँगै बस्तुभाउलाई खुवाउन जम्मा गरिएको घाँस र एउटा गोठसमेत जलेको छ । तरापी राँकाको मौसमी बस्ती हो । अहिले यहाँका किसान चिसो हिउँद कटाउन गाउँ झरेका छन् । फल्न थालेका स्याउका बिरुवा आगोले खाएको र अहिलेसम्मको सबै मेहनत खेर गएको किसाल तुल धरालाले बताए । लेकमा चिसो बढेपछि गाउँ झरेका किसानको बगैँचा एकाएक आगोले सखाप पारेपछि यहाँका किसान चिन्तित भएका छन् ।
किसानले स्याउबाटै जीवन फेरिने आशा गरेका थिए । एक्कासी यति ठूलो विपत्ति आइलाग्यो अब राहतका लागि समन्वय गरिने गाउँपालिका अध्यक्ष न्यौपानेले बताए । छिट्टै कार्यपालिकाको बैठकबाट निर्णय गरी राहत उपलब्ध गराउने गाउँपालिकाले जनाएको । आगलागीबारे अनुसन्धान भइरहेको वडा कार्यालयले जनाएको छ ।