
काठमाडौँ : ललितपुर महानरगरपालिका २६ सुनाकोठीमा जुवा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ । शुक्रबार सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलामा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै उनीहरुको साथबाट १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र १५० थान सिमीको दाना पनि बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
अवैध रुपमा तास खेलेको सूचनाका आधारमा परिसरबाट प्रहरी निरीक्षकहरू पोषणराज थपलिया र सुरेशराज भट्टको कमान्डमा ३५ जनाको टोली खानतलासीमा खटिएको थियो । पक्राउ परेकाहरूलाई परिसरमै राखिएको र अनुसन्धान जारी रहेको पनि प्रहरी उपरीक्षक महर्जनले बताए ।
पक्रउ पर्नेहरुमा ललितपुर बस्ने वर्ष ४३ को रामबहादुर लामा, वर्ष ४० का प्रकाश भण्डारी, वर्ष ४७ का लव कुमार बस्नेत, वर्ष ४३ का राकेश महर्जन, वर्ष ३९ का दिनेश पुडासैनी, वर्ष ५३ का हिटलर श्रेष्ठ, वर्ष २८ का अनिल महर्जन, वर्ष ३६ को श्रीकृष्ण खड्का छन् ।
यस्तै, वर्ष ४२ का तुलसी राम महर्जन, वर्ष ४६ का सानु कान्छा महर्जन, वर्ष ४५ का पुर्ण श्रेष्ठ, ४८ वर्षका विनोद प्रसाद घिमिरे, वर्ष ४० को पुर्ण मान माली, वर्ष ५७ का सानुकान्छा बस्नेत, वर्ष ४६ को राम खत्री, वर्ष ३२ का विनोद महर्जन र वर्ष ५५ का चिरीकाजी महर्जन रहेका छन् ।