
काठमाडौँ : यो वर्षको जाडोयाम आज समाप्त भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडोयाम समाप्त भएसँगै प्रि–मनसुन शुरू हुन लागेको छ । प्रि–मनसुन याममा हरेक दिनजसो अपराह्न र साँझपख मेघगर्जन/ चट्याङ्गसहित हावाहुरी र असिनापानी पर्ने सम्भावना हुने भएकाले त्यसबाट जोगिन महाशाखाले अपिल गरेको छ ।
यसैबीच आज प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ ।
महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबार र बुधबार मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
महाशाका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदुर–पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।