ओलीलाई काउन्टर दिन नेपाल खनाल समूहको बैठक बस्दै

काठमाडौं : आन्तरिक विवाद चुलिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। मंगलबार दिउँसो बैठक बस्न लागेको भए पनि स्थान र समय टुंगिन बाँकी रहेको उक्त समूहका एक स्थायी समिति सदस्यले जानकारी दिए।

यसअघि सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट छ महिनाका लागि निलम्बन गरेका थिए। ओलीको उक्त कदमको विरोध गर्दै नेपालले आफूले ओलीको डटेर सामना गर्ने बताएका थिए।

ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल(नेपाल समूहले जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ। गोरखा लगायतका कतिपय जिल्लामा त त्यस्तो समिति गठन नै भइसकेको छ। आजको छलफलमा अबको थप रणनीतिबारे छलफल हुने ती स्थायी समिति सदस्यले बताए। ओलीले गरेको कारबाही र त्यसपछि अख्तियार गर्ने बाटो तथा रणनीतिबारे बैठकमा गम्भीर छलफल हुने बताइएको छ ।