
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद गरेको छ।
आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार अध्यक्ष डम्बरबहादुर राउतले बाटोमा फालेको आठ लाख रुपैयाँ बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
आयोगको टोलीले प्र–२–०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ भने अध्यक्ष राउत फरार छन्। गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन उनले आठ लाख रुपैयाँ कमिसनको रुपमा लिएको अख्तियारको दाबी छ।
अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई सोमबार दिउँसो साढे ४ बजेदेखि घेरामा हालेर छानविन सुरु गरेको थियो। करिब ३ घण्टाको छानबिनपछि अख्तियारको टोलीले गाडीबाट लाखौँ रकम बरामद गरेको थियो।