विश्वकप क्रिकेट: कप्तान फिन्चको शतकसँगै अष्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय ८६ रनको लक्ष्य दियो

एजेन्सी।  कप्तान आरोन फिन्चको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय ८६ रनको लक्ष्य दिएको छ ।

 

 

लर्डसमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । अष्ट्रेलियाका ओपनर आरोन फिन्चले १ सय १६ बलमा ११ चौका र २ छक्का सहित १ सय रनको योगदान दिए । यो फिन्चको वान डे करियरको १५ औं शतक हो ।

 

जोफ्रा आर्चरको ३६ ओभरको दोस्रो बलमा २ रन बटुल्दै कुल १ सय १५ बलमा आफ्नो वान डे करियरको १५ औं शतक पुरा गरेका थिए । लगत्तै अर्को बलमा ठूलो शट खेल्ने धुनमा फिन्च क्रिस वोक्सबाट क्याच आउट हुन पुगे । जारी विश्वकपमा फिन्चको यो दोस्रो शतक हो । फिन्चले यस अघि श्रीलंकासँगको खेलमा पनि उत्कृष्ट शतक प्रहार गरेका थिए ।

 

ओपनर डेविड वार्नर र आरोन फिन्चले २२.४ ओभरमा १ सय २३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी मोइन अलीले जो रुटबाट वार्नरलाई ५३ रनमा क्याच आउट गराउँदै तोडे । वार्नरले ६१ बलमा ६ चौका प्रहार गरे ।

 

 

बेन स्टोक्सले ३३ ओभरको दोस्रो बलमा उस्मान खवाजालाई २३ रनमा बोल्ड आउट गरे । ३९ ओभरको दोस्रो बलमा मार्क उडले कट निकाल्दै विकेटकीपर जस बटलरबाट ग्लेन म्याक्सवेललाई १२ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।

 

४२ ओभरको पाँचौ बलमा स्टिभ स्मिथसँग दुइ रन लिनेक्रममा तालमेल गर्न नसक्दा मार्कस स्टोइनसि ८ रनमा रन आउट भए ।

 

स्टिभ स्मिथ पनि ठूलो शट खेल्ने धुनमा ३४ बलमा ५ चौका प्रहार गर्दै ३८ रनमा क्याच आउट भए । विकेटकीपर एलेक्स केरीले २७ बलमा ५ चौका सहित ३८ रनमा अविजित रहे । प्याट कमिन्स १ र मिचेल स्टार्कले ४ रन जोडे ।

 

इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक २ विकेट हात पारे । जोफ्रा आर्चर,मार्क उड,बेन स्टोक्स र मोइन अलीको नाममा समान १ विकेट रह्यो ।