
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका ३ मुसहरनियाँ टोलमा जग्गा विवादमा एक पक्षको कुटाइबाट दुई वर्षीय अबोध बालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्थाको गम्भीर रहेको छ ।
बुधवार बिहान जग्गा विवादमा एक पक्षको मुसहरनियाँ टोलका कुटाइबाट दुखी माली, उनका पत्नी पारु, छोरा रामेश्वर, छोरी कञ्चन, चन्द्रिका, अमेरिका र दुई वर्षीय नाति नितिश घाइते भएका हुन् ।
जग्गाको आली जबरजस्ती मिच्न खोज्दा रोक्ने क्रममा सोही वडा निवासी लालदेव माली, राजु माली, प्रभात माली, अनुराग माली लगायतका समूहले एक्कासि घरेलु हतियारले आक्रमण गरेको घाइते चन्द्रिका कुमारी मालीले बताइन् ।
कुटपिटबाट काखमा बोकेको दुई वर्षीय नाति नितिश पनि घाइते भएको पारु मालीले सुनाइन् ।
घाइते सबैको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका दुखी मालीको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
घटनापछि आरोपी सबै फरार रहेको गाउँलेहरूले बताएका छन् । घटनाको अनुसन्धान तथा संलग्नहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।