
काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएका छन् ।
सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा छलफल गर्न पार्टीको अनौपचारिक बैठक बोलाएको बताइएको छ ।
जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चारजना सांसदलाई कारवाही गरिएको थियो ।
यादव पक्षका नेताको दावी अनुसार संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको छ । अध्यक्ष यादवलाई थाहै नदिई शुक्रबार अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिसकेको छ ।