हङकङसँग बराबरी खेलेसँगै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ : नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझायो । बलमा पकड जमाएपनि नेपालले हङकङविरुद्ध गोल निकाल्न सकेन । हङकङले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

बिज्ञापन

नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपाल पराजित भएको थियो। सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० ले पराजित भएको थियो। यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३–० ले पराजित भएको थियो।

हङकङसँगको बराबरीसँगै समूह एफको नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो । नेपाल पुछारमा रहेको छ । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो स्थानको हङकङको भने छनोट हुने सम्भावना कायम रहेको छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ ।

हङकङले १ खेलमा १ अंक जोडेको छ । शीर्ष स्थानको फिलिपिन्सले १ खेलमा ३ अंक जोडेको छ । यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।