वरिष्ठ चराविज्ञ हरिशरण नेपालीको निधन

काठमाडौँ । नेपालमा चरा संरक्षण अभियान तथा चरासम्बन्धी अध्ययनको सुरुवात गरेका वरिष्ठ चराविज्ञ हरिशरण नेपाली अर्थात काजी दाइको निधन भएको छ ।

उनको काठमाडौँको क्षेत्रपाटी, ठमेलस्थित घरमै बुधबार बिहान ९४ वर्षको उमेरमा निधन भएको नेपाल पक्षी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ्गले जानकारी दिए । उनको शोभागवतिमा अन्तिम संस्कार गरिएको छ ।

नेपाल पक्षी संरक्षण संघका संस्थापक अध्यक्ष समेत रहेका नेपालीले नेपालमा चरा अवलोकन, पहिचान तथा संरक्षणको जग बसालेको गुरुङले बताए ।

जीवनभर चराहरुको अध्ययन र संरक्षणमा लगाएका नेपालीकै ‘मेन्टरिङ्ग’ मा चरा संरक्षणको क्षेत्रमा काम गर्नेहरुको विकास भएको मानिन्छ । नेपालीलाई आफ्नो मेन्टर मान्ने चराविद हेमसागर बरालले चराको पहिचान र संरक्षणका लागि ठूलो योगदान रहेको बताए । नेपालीले ६० को दशकदेखि नै विभिन्न ठाउँमा गएर चराको खोजी तथा अन्वेषण गरेका हुन ।