वरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश जबरा सहमत

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धका रिट निवेदनहरूमाथि आज सुनुवाइ नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बारका पदाधिकारीको बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी व्यवस्थामा नै संशोधन गर्ने सहमति भएपछि आजका लागि इजलास स्थगित हुने भएको हो ।

अदालतको मर्यादा, जनआस्था र जनविश्वासलाई कायम राख्न संवैधानिक इजलास पुनर्गठनको मागसहित बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरालाई भेटेका थिए । बारले सर्वाेच्चका वरिष्ठतम् न्यायाधीश सम्मिलित इजलास गठन गर्न माग गरेपछि त्यस विषयमा प्रधानन्यायाधीश सहमत भएका बताइएको छ ।

भविष्यमा कहिले पनि विवाद नआउने गरी संवैधानिक इजलासको नियमावली संशोधन गरिने छ । वरिष्ठतम न्यायाधीश सम्मिलित हुने, इजलासमा तोकिने वरिष्ठतम न्यायाधीशमध्ये कोहीको मुद्दाका पक्ष वा विपक्षसँग सम्बन्ध भएमा वा कुनै सार्थक सम्बन्ध देखिएमा इजलास छाड्न सकिने र त्यसरी इजलास छाडेपछि अर्का वरिष्ठतम् न्यायाधीशलाई इजलासमा तोक्ने व्यवस्था नियमावलीमै सर्वाेच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बताए ।