
धनगढी : एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट प्रतियोगिता शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशको पुरुष टोलीको प्रदेशस्तरीय छनोट प्रतियोगिता आजदेखि महेन्द्रनगरमा शुरु भएको हो । महेन्द्रनगरस्थित कभर्ड हलमा भएको उद्घाटन खेलमा अछाम र डोटी भिडेका छन् ।
अर्को खेल डडेल्धुरा र कञ्चनपुर आमनेसामने हुने छन् । पुस ३ गतेसम्म सञ्चालन हुने पुरुष छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनोट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।
त्यस्तै, महिला टोलीको सुदूरपश्चिम छनोट अगामी पुस ४ गतेदेखि कैलालीको धनगढीमा हुनेछ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ ।
महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुने छन् भने पुरुषतर्फका काठमाडौंमा हुनेछ । प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघले जनाएको छ ।