प्राकृतिक बासस्थान गुमेपछि आहार खोज्न घरभित्र पस्यो हात्ती

बैंकक । थाइल्यान्डमा एक घरमा मध्यरातमा जङ्गली हात्ती पसेको घटनाको भिडियो सार्वजनिक भएको छ । जसमा हात्तीले भाँडाकुँडा राखेको दराज हुँदै भित्र टाउको छिराएर त्यहीँ अड्किएर बसेको देख्न सकिन्छ । यसपछि त्यसले आफ्नो सुँडको प्रयोग गर्दै नजिकैको प्लास्टिकको झोला उठाएर मुखमा हालेको छ ।

 

बिज्ञापन

आफ्नो घरमा आत्ती परेपछि महिला भन्छिन्, “हामी सुतिरहेका थियौँ अचानक भान्छाबाट आवाज आएर ब्युझियौँ ।” पश्चिमी प्रचोप खिरी खान प्रान्तकी बासिन्दा रेचदवानले थप भनेकी छन्, “यसपछि हामी आत्तिँदै तल झर्यौँ । त्यहाँ हेर्दा त भान्छाको भित्ता फोडेर हात्ती पो छिरेको रहेछ !” यो उनका लागि पहिलो घटना भने होइन । अघिल्लो महिना पनि यसैगरी हात्तीले उनको भान्छा फोडेर टाउको छिराउन खोज्दा त्यहाँ प्वाल परेको थियो । र, त्यो क्षतिको मर्मत गर्न नपाउँदै अर्को हात्तीले भित्र पस्ने प्रयास गरेको उनले बताइन् ।

 

राष्ट्रिय निकुञ्ज विभागका अनुसार त्यो हात्ती खानेकुराको गन्धकै कारण उनको भान्छासम्म पुगेको थियो । विभागले फेसबुकमा पोस्ट गर्दै यसबारे जानकारी गराएको हो, “हात्ती शाकाहारी जन्तु हो र उनीहरूलाई नुनिलो खानेकुराबाट आवश्यक ‘मिनरल्स’ तत्व प्राप्त हुने गर्दछ । त्यसैले उनीहरूले मिनरलको खोजी गरिरहेका हुन सक्छन् । यससम्बन्धी हामीले स्थानीय बासिन्दाहरूलाई सचेत गराइरहेका छौँ ।” त्यसैगरी अर्को कारण ती महिलाको घर राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै परेको हुनाले पनि हात्तीले उनको घरलाई लक्षित गरेको हुन सक्ने बताइएको छ ।

 

यस किसिमका घटना सो क्षेत्र वरपर धेरैपटक भएका छन् । विशेषगरी फलफूलको खेतीका समयमा हात्ती धेरै देखा पर्ने गरेको बताइएको छ । पछिल्ला केही दशकमा थाइल्यान्डमा मात्र नभइ भारतलगायत एसियाका विभिन्न भूभागमा हात्ती र मानवबीचको सम्पर्क बढेको पाइएको छ ।

मानव संरचना विस्तार भएसँगै हात्तीको प्राकृतिक बासस्थान नाश हुँदै जाँदा तिनीहरू कम क्षेत्रफलमा, सानो समूहमा अनि एकदमै कम र सीमित श्रोतसाधनमा बाँच्न बाध्य हुन्छन् । यसकारण आहारको खोजीमा उनीहरू मानव बस्ती पस्ने गर्दछन् ।

यस घटनासम्बन्धी जर्नल प्लस वानमा लेखिएको छ, “थाइल्यान्डको भूगोल दीर्घकालीन हात्ती संरक्षणका निम्ति योग्य मानिए पनि पछिल्लो समय यो क्षेत्रमा कृषि, सडक बिस्तार, भवनलगायत संरचना विकास हुनुले हात्तीहरूको बासस्थान विखण्डन गराइदिएको छ र परिणामस्वरूप हात्ती र मान्छेबीचको अन्तर्क्रिया पनि वृद्धि भएको हो ।”

यसको अध्ययनमा सहभागी ४१ फल खेतीका मालिकहरूमा गरिएको सर्वेक्षणमा अधिकांशले आफ्नो अन्नबालीलाई हात्तीले महिनामा कम्तीमा एकपटक तहसनहस पार्ने गरेको बताएका छन् । त्यस्तै उनीहरूमध्ये आधाले यो दैनिकको घटना हुने गरेको समेत खुलासा गरेका छन् । उनीहरूको रिपोर्टअनुसार हात्तीले फलका साथै पानीको पाइप र ट्यांकीमा पनि क्षति पुर्‍याउने गरेको छ । र, यो समस्याको कुनै पनि समाधानले काम नगरेको पनि अध्ययनमा उल्लेख छ । यसमा दीर्घलीन समाधान जस्तै : हात्तीको प्राकृतिक वासस्थान पुनःनिर्माण गर्ने, जग्गा जमिनको उचित प्रयोग, हात्तीलाई आकर्षित नगेर्ने किसिमका अन्नबालीको छनोट लगायत सुझाव गरिएको छ ।

यस्तै किसिमका उपायहरू भारतमा पनि अपनाउन पहल हुँदै आएको छ । त्यहाँ हरेक वर्ष हात्तीले ५०० भन्दाबढी मान्छेको ज्यान लिने गरेको छ । यता चीनमा चाहिँ अहिले १५ हात्तीको एउटा समूह देशको दक्षिणपश्चिमतर्फ यात्रा गरिरहेको छ । र, हालसम्म ५०० किलोमिटर हिँडिसकेको छ । लाखौँ मानिसले यस रोचक यात्रालाई प्रत्यक्ष प्रशारणमार्फत हेरिरहेका छन् ।