प्रचण्डका घरबेटी ठेकेदार परे कारबाहीमा, नगरकोट जाने सडक ४ वर्षमा पनि बनेन

काठमाडौं । भक्तपुरदेखि नगरकोट जाने सडक समयमै सम्पन्न नगरेकाे भन्दै साे सडक निर्माणकाे जिम्मा लिएका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीमाथि कारबाही गरिएकाे छ । सडक विभागले अधिकारीकाे कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कारबाहीस्वरुप जरिवाना तिर्न लगाएकाे हाे ।

शैलुङ कन्स्ट्रक्सनका मालिक शारदा अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी समेत हुन् । सडक निर्माणमा ढिलाइ गरेकाे आराेपमा विभागले उनलाई ठेक्का रकमको १० प्रतिशत जरिवाना गराएको हो । साे सडक निर्माणका लागि तीनपटक म्याद थप गरिदिँदा पनि समयमै काम सम्पन्न नगरेको जरिवाना गरिएको विभागले जनाएकाे छ ।

नगरकाेट जाने सडक दुई वर्षमा सक्नुपर्ने ठेक्का सम्झाैता भए पनि चार वर्ष सकिँदा समेत ५० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न नभएकाे जनाइएकाे छ । ३० करोड रुपैयाँ लागत तय भएकाे साे सडकका लागि हालसम्म ठेकेदार कम्पनीले १४ करोड रुपैयाँ भुक्तानी लिइसकेकाे छ । पछिल्लाे समय सकिएकाे म्याद भने थप गरिएकाे छैन ।