
काठमाडौं । विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी (लेखापाल) र विद्यालय सहयोगीको तलबमानमा वृद्धि भएको छ । मेलम्ची नगरपालिकाको शिक्षा समितिको बैठकले सो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
यसै वर्षदेखि लागू हुनेगरी विद्यालय, कर्मचारी, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारीको तलबभत्ता निर्धारण गरिएको शिक्षा शाखाका अधिकृत सुधीनराज बुढाथोकीले जानकारी दिए।
जसमा विद्यालय सहायक कर्मचारीका लागि सङ्घीय सरकारबाट प्राप्त १३ हजार ५००, नगरपालिकाबाट तीन हजार ५०० थप गरी मासिक पारिश्रमिक रु. १७ हजार निर्धारण गरिएको हो। प्रारम्भिक बाल विकास सहजकर्ताका लागि आठ हजार र नगरपालिकाबाट सात हजार थप गरी रु. १५ हजार निर्धारण गरिएको छ। त्यस्तै नगरपालिकाबाट नियुक्त गरिएका बाल विकास सहजकर्ताका लागि नगरपालिकाबाट १५ हजार मासिक तलबको निर्धारण गरिएको बुढाथोकीले जानकारी दिए।
कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयका सहयोगीलाई सङ्घीय सरकारबाट प्राप्त ६ हजार ५०० र नगरपालिकाबाट रु पाँच हजार ५०० थप गरी रु १२ हजार निर्धारण गरिएको छ। कक्षा १ देखि ८, १ देखि १० र १ देखि १२ सम्म सञ्चालनमा आएको विद्यालयका सहयोगीहरूलाई सङ्घीय सरकारबाट प्राप्त नौ हजार ५०० र नगरपालिकाबाट पाँच हजार थप गरी रु १४ हजार ५०० निर्धारण गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए।