
काठमाडौं : रंगभेदी टिप्पणी, कुटपिट र सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेकी ज्वाला भनिने टीका संग्रौलाविरुद्धको अनुसन्धानका लागि प्रहरीले आज चौथोपटक म्याद थपको तयारी गरेको छ ।
काठमाडौं जिल्ला अदालत काठमाडौंबाट अनुुसन्धानका लागि थप म्याद लिने तयारी गरिएको हो । सत्तारुढ दल नेकपा (एमाले) निकट नेत्री खुश्बु घिमिरेसँग भएको विवादपछि परेको उजुरीका आधारमा प्रहरीले उनीसहित तीनजनालाई यही असार ६ गते पक्राउ गरेको थियो । ज्वालासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पक्राउ परेका हुन् ।
सामाजिक सञ्जालमा एकअर्काविरुद्ध उनीहरुले लेखेका विषयमा विवाद भएको थियो । विवादकै बीच उनीहरु महानगरीय प्रहरी वृत्त गौशाला पुगेका थिए । सोही क्रममा दुवै पक्षबीच प्रहरी कार्यालय परिसरमै हात हालाहाल भएको थियो । सुरुमा उनीविरुद्ध अभद्र व्यवहारमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
यसबाहेक उनले एक प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी टिप्पणी गरेको समेत पाइएको थियो । अनुसन्धानकै क्रममा उनले जन्मदर्ता र विवाहदर्ताको कागजमा सरकारी छाप किर्ते गरेको पाइएको प्रहरीले जनाएको छ ।