
एजेन्सी । भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको वर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ। बाढीमा परेर आइतबार बिहानसम्म १८ जनाको ज्यान गएको थियो । बाढीमा परी अन्य दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । हराइरहेका केही व्यक्तिको शव आइतबार अपराह्न भेटिएको थियो। त्यसपछि सो संख्या बढेर २२ पुगेको बताइएको हो।

सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ। कोट्याम जिल्लामा बढीले बढी क्षति पुर्याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ। बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन्। यहाँ आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको छ।



बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन्। मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि वर्षा कायमै रहने बताएका छन्। अधिकारीहरुले आइतबार पनि वर्षा जारी नै रहेको बताएका छन्। वर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ।
