अध्यागमन विभागको सम्पूर्ण सेवा आजदेखि नियमित

काठमाडौँ : अध्यागमन विभागले आजदेखि सम्पूर्ण सेवा पुनः सुरु गरेको छ । कोभिड–१९ को दोस्रो लहरको जोखिम न्यूनीकरणका लागि भन्दै विभागले यसअघि जेठ ५ गते सूचना जारी गरी आकस्मिक बाहेकका अन्य सेवा स्थगित गरेको थियो ।

कोभिड संक्रमण घट्दै गएको तथा अन्तर्राष्ट्रिय एवं आन्तरिक उडानसमेत सुचारु हुन थालेसँगै सेवा सञ्चालन गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नेगरी भिसासम्बन्धी सबै सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागको भनाइ छ ।

बिज्ञापन

गत वैशाख १५ (अप्रिल २८) सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ गतेभित्र नेपालबाट प्रस्थान हुने भएमा प्रस्थानको समयमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै निःशुल्क भिसा नियमित गरिने विभागको सूचनामा उल्लेख छ ।

यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्न विभाग वा अन्तर्गतका कार्यालयमा आवेदन गरेमा विलम्ब शुल्क र जरीवाना नलिई भिसा नियमित गरिनेसमेत विभागले जनाएको छ ।

असार २४ पछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्ने उल्लेख छ ।