
राजविराज । घरमा पतिपत्नीबीच हुने कुटपिट, झै–झगडा तथा धम्की जस्ता घटना हिंसा नरहेको महिलाहरुमा बुझाइ कायमै रहेको छ । शिक्षा र चेतना अभावले महिला हिंसाका प्रकृति छुट्याउन नसक्ने अधिकाँश महिलाहरु यस्तो घटनालाई पतिको अधिकार ठान्ने गरेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा आयोजित महिला हिंसा विरुद्ध जनचेतना तालिमका अधिकाँश सहभागीहरुले श्रीमति उपर श्रीमानले गर्ने दुव्र्यवहार पतिको अधिकार भएको ठान्ने गरेका छन् ।
पतिलाई प्रमेश्वर (भगवान) ठान्ने र सोही अनुसार व्यवहार गर्ने महिला भएको कारण आफ्नो कर्तव्य ठान्ने उनीहरुको बुझाइ रहेको छ ।
विवाहपछि लालन पालन, खानपान, लत्ताकपडा, श्रृङ्गार सहित घरका सम्पूर्ण खर्च भारको जोहो पतिको जिम्मेबारीमा रहने भएको सहभागी रन्जीता चौधरी भन्नुहुन्छ, ‘पतिले नै सबैथोक जोड्छन, उ मालिक हुन । उसको कुटनु, गाली गर्नु अधिकार हो ।’
शम्भुनाथ नगरपालिकाको सहयोगमा जीवन ज्योति समाज विकास केन्द्र नेपालले आयोजना गरेको तीन दिने तालिमको समापनमा सहभागी लालसैरदेवी मण्डलले हाम्रो (महिला) नाममा जग्गाजमिन, पैसा भएपनि आफुखसी खर्च गर्न नसकिने वातावरण रहेको बताउनुभयो ।
‘यदि आफु खुशी खर्च गरिहाले भने कुटाइ खानुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘तर, पुरुषले आफुखुसी खर्च गरियो भने हामी महिला केही पनि गर्न सक्दैनौ । गरेर पनि साध्य छैन । आखिर दुःख, सुख उसैसँग बस्नु पर्छ ।’
कार्यक्रममा शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद भण्डारीले चेतनामूलक कार्यक्रम सञ्चालन भएपछि महिलाहरुको चेतनास्तरमा बृद्धि भएको भन्दै उहाँले पुरुषजतिको महिला शिक्षित र अवसर पाएमा हिंसा स्वतः न्यूनिकरण हुने बताउनुभयो । घरायशी वातावरणले परिवार सुध्रिने हुँदा परिवार नै शिक्षित हुनुपर्नेमा उहाँको जोड थियो । गोर्खापत्र अनलाइन