
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने बताएका छन् ।

उनले निर्वाचनमा वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा पर्न नहुने भन्दै ठाउँ र आवश्यकताअनुसार तालमेल गरेर अगाडि जानु पर्ने बताए ।



‘ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ’, उनले भने, ‘तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ।’ वरिष्ठ नेता पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको भन्दै केन्द्रले स्थानीय तहलाई निर्णय लाद्ने पक्षमा कांग्रेस नरहेको बताए ।

उनले केन्द्रबाट सबै निर्णय लाद्ने नीति कांग्रेसमा नभएको पनि बताए । अहिलेको राष्ट्रिय आवश्यकता परिवर्तनमाथि भएको प्रहार र प्रतिगमनको विरुद्धमा रहेको उल्लेख गर्दै उनले यसलाई जोगाउनुपर्नेमा जोड दिए। वरिष्ठ नेता पौडेलले गठबन्धन प्रतिगमनबाट जोगाउन र परिवर्तनको रक्षाका लागि भएको स्पष्ट पार्दै ७० वर्षको उपलब्धि रक्षाका लागि गठबन्धन गर्नु परेको बताए ।
वरिष्ठ नेता पौडेलले अहिले नै कस्ले कहाँ छोड्ने भन्ने विषयमा टुङ्गो नलागेको उल्लेख गर्दै छलफलबाट सबै कुराको टुङ्गो लाग्ने बताए ।