
काठमाडाैं । राजधानीमा खोला मिचेर घर बनाउँदा बस्तीमा बाढी पसेको छ । गएको बिहीबार र शुक्रबार परेको अविरल वर्षाले काठमाडौँका धेरै स्थान जलमग्न भए ।
खोला किनारका अव्यवस्थित बस्तीमा मात्र होइन, बीच सहरका पक्की घरहरूमा समेत बाढी पस्यो ।
गएको शुक्रबार बल्खु खोला बढेर बस्तीमा पसेको देखेर डराउनुभएका इन्दिरा खत्रीले भन्नुभयो, “पहिले–पहिले यस्तो देखेको थिइनँ, केही वर्षयता केहीबेर पानी पर्दा पनि बाढी बस्तीमा पस्न थालेको छ । ”
कलङ्की सुनारगाउँमा बस्ने उहाँ घर खोला नजिकै भएका कारण अचेल पानी पर्न थालेपछि डराएर राम्रोसँग निदाउनसमेत नसकेको सुनाउनुहुन्छ ।

खोला मिचेर घर बनाउने प्रवृत्ति बढेका कारण वर्षात्मा खोला बढ्दा बस्तीमा खोला पसेको उहाँको बुझाइ छ । खोलाको बहाव क्षेत्र नै च्यापेर भौतिक संरचना निर्माण गर्नु जोखिमपूर्ण रहेको पछिल्ला दिनमा बस्तीमा पसेको भेलले पनि पुष्टि गरेको छ ।
उपत्यकामा बहने मझौला तथा साना स्तरका खोलानालाको भेल यहाँका लागि जोखिम बनेको छ । मुख्यगरी बागमती नदी र यसका सहायक नदी, खोलामा वर्षात्मा बाढी आउँदा धनजनको क्षति हुने गरेको छ ।
यी नदीको कटान न्यूनीकरण गर्ने काम अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विभिन्न परियोजनामार्फत गरिरहेको छ ।
काठमाडौँमा बग्ने बागमती नदी र यसका सहायक नदीको बहाव क्षेत्र कायम गर्ने अधिकार समितिलाई दिइएको छ ।
नदीको आकार र उद्गमसँगको दूरीका आधारमा उपत्यकाका नदीमा २० देखि ८० मिटर चौडाइको बहाव क्षेत्र निर्धारण गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।