नतिजा सार्वजनिकको माग गर्दै विद्यार्थीद्वारा रिले अनशन

परीक्षाको नतिजा सार्वजनिकको माग गर्दै हिकास्टका विद्यार्थीहरुले रिले अनशन सुरु गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एन्ड टेक्नोलोजी (हिकास्ट) का विद्यार्थीहरु परीक्षाफल प्रकाशनको माग गर्दै आइतबारदेखि आन्दोलित भएका हुन् ।

काठमाडौंको कलंकीमा रहेको हिकास्टका विद्यार्थीले निषेधाज्ञाका बेला कृषि र भेटेनरीको सातौं र नवौं सेमेस्टरको परीक्षाको नतिजा सार्वजनिकको माग गर्दै रिले अनशन थालेका हुन् ।

क्याम्पसले कोभिड-१९ का बेला कृषि सातौं, भेटेरिनरी सातौं र नवौं सेमेस्टरको अनलाइन परीक्षा लिएको थियो । उक्त परीक्षाको नतिजा क्याम्पसले भदौ ९ मै प्रकाशित गरे पनि आधाजसो विद्यार्थीको पूर्ण नतिजा भने प्रकाशन नगरेको तपेश रावलले बताए ।

क्याम्पसले सबै विद्यार्थीको परीक्षाको नतिजा सार्वजनिक गर्नुपर्नेमा आधा विद्यार्थीको मात्रै नतिजा सार्वजनिक गर्दा विद्यार्थी अन्योलमा परेको हुँदा आन्दोलन गर्नुपरेको रावलको भनाइ छ ।

परीक्षाको नतिजा पुनः प्रकाशनको माग राख्दै आइतबार विद्यार्थीहरुले हिकास्टको मुख्य कार्यालय कलंकीमा रिले अनशन बसेको विद्यार्थी पुनम भट्टले जानकारी गराइन् ।

भट्टका अनुसार अनलाइन परीक्षाका दौरान क्याम्पस प्रशासनले दिएको नियम र निर्देशन पालना गर्दै निर्धारित समयभित्र उत्तरपुस्तिका पठाउँदा पनि गैरजिम्मेवार पूर्ण तरिकाबाट परीक्षाको नतिजा प्रकाशित गरेको भएर रिले अनशन गर्नुपरेको बताइन् । विद्यार्थीहरुको माग बेवास्ता गरे क्याम्पस प्रशासनविरुद्ध अझै सशक्त आन्दोलन थाल्ने विद्यार्थीले बताएका छन् ।