
बाजुरा – बाजुराकी दुई वर्षीया बालिकाकाे काेराेना भाइरसकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे छ । जिल्ला अस्पतालकाे आइसोलेशनमा राखिएकी बूढीगङ्गा नगरपालिका १ घर भएकी दुई वर्षीया बालिकाकाे आइतबार बिहान मृत्यु भएको थियो ।
उनको मृत्यु भएपछि स्वाब परीक्षणकाे लागि सेती प्रादेशिक प्रयोगशालमा पठाइएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनकाे काेराेना भाइरसकाे कारण मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । मृतक बालिकाकाे बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो ।
दुई वर्षीया बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएकाे थियाे । बालिकाकाे अवस्था निकै चिन्ताजनक रहेको र उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
आठ दिनअघि उनको परिवार भारतबाट आएकाे थिए । भारतबाट आएका उनीहरुलाई पहिले बूढीगङ्गा नगरपालिकाको क्वरेण्टीनमा राखिएको थियो । पछि बालिका बिरामी भएपछि, बिहीबार साँझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेशनमा ल्याइएको थियो ।
अब नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ ।