
एजेन्सी : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ्ग पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउठाउमा पहिरो जाँदा बुधबारदेखि धेरै क्षति पुर्याएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रान्तिय प्रवक्ता कामरान बाङ्गाशले भने, ‘चट्याङ्गका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको थियो । मृतकहरूमा पाँच जना केटाकेटी र चार जना महिला रहेका छन् ।



सामान्यतया जूनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुन भारतीय उपमहाद्वीपभरि बाली सिंचाई गर्न र पानीको आपूर्ति पूरा गर्न अत्यावश्यक छ, तर प्रत्येक वर्ष वर्षासँगै आउने बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तान लगायतका एशियाली मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ । सन् २०१९ को नोभेम्बरमा भएको यस्तै घटनामा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण करिब १८ जनाको मृत्यु भएको थियो ।
