
काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा आज नेपाल र ओमान भिड्ने भएका छन् । यी दुई टोली बीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा अपरान्ह ४ः१५ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल घरेलु टिमविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रँदै छ। सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पाखा लगाएको हो । ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम हो। ओमानले १० खेलमा १६ अंक जोडेको छ।नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
लिग–२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् । यसअघि लिग–२ को सिरिजअन्तर्गत नेपालले घरेलु मैदानमा ओमानसँग खेलेको दुई खेलमा पराजित भएको थियो।