दोस्रो प्राथमिकतामा परेकालाई आजदेखि कोरोना विरुद्धको खोप

काठमाडौं । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आज (आइतबार)देखि कोरोना विरुद्धको खोप लगाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ ।

बिज्ञापन

यसबाहेक काठमाडौंबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल, प्रहरी अस्पताल लाजिम्पाट, शिक्षण अस्पताल, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल, बानेश्वरबाट खोप सेवा लिन सकिने छ ।

यसअघि फ्रन्टलाइनर्स् स्वास्थ्यकर्मी, पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई शुक्रबारसम्म खोप लगाइसकेका छन् ।