हुम्लामा चीनले यसरी गर्दैछ भूमी अतिक्रमण

काठमाडौं । चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको तथ्यहरु फेला परेको छ । नयाँ सीमा स्तम्भ चीनले आफै राख्नेदेखि पुराना सीमा स्तम्भ पनि ढलेको भेटिएको छ ।
हुम्लामा नेपाल–चीनको १२ नम्बर पिलर नयाँ बनाएर खडा गरेको भेटिएको छ । सीमा स्तम्भमै जोडेर तारबार र गेट राख्ने गतिविधिहरु पनि भएको खुलेको छ । सीमा क्षेत्रमा ‘नो म्यान्स ल्यान्ड’ राखेर तारबार गर्ने प्रचलन छ । तर, सिधै सीमामा जोडेर तारबार लगाइएको छ ।

हुम्लाको किट भन्ने स्थानको पिलर नम्बर ५ का दुईवटा पिलरमा चीनले तारबार राखेको देखिन्छ । पिलर नम्बर ५ (२) को स्तम्भ पनि नयाँ बनाएको भेटिएको छ ।
सीमामा तारबार पनि दुई देशको सहमतिमा नभई एकतर्फी लगाइएको छ ।

बिज्ञापन

लाप्चा भञ्ज्याङ, लिमीको टाकुल्ले क्षेत्र, गुप्पुदोचामा सीमा अतिक्रमण भएको तथ्य पत्ता लागेको छ । स्थानीयवासीले स्तम्भ रहेको क्षेत्र नेपालकै रहेको बताएका छन् । स्थानीयवासीले १२ नम्बर जस्तै ५ नम्बर र अन्य स्तम्भ भएको ठाउँमा पनि अतिक्रमण भएको दाबी गरेका छन् ।

लोलुजोङमा चीनले पूर्वाधार निर्माण गरेको छ । उसले त्यहाँ सुरक्षाकर्मी तैनाथ गरेको छ । स्थानीयवासीले सीमास्तम्भ विगतमा र अहिले फरक ठाउँमा राखिएको बताउँदै आएका छन् । केही वर्ष अघि मात्र चीनले लोलुङजोङमा संरचना बनाएको छ ।