आजको मौसम : देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ : बंगालको खाडीको उत्तर पश्चिम भू–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन- चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति थोरै स्थानहरुमा मेघ गर्जन- चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नरहेका विभागले जनाएको छ । त्यसकारण मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार अब भारी वर्षाको सम्भावना भने रहेको छैन ।