राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गर्ने पक्राउ

 

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका–७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाबिस–८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् ।

गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोष्‍ट गर्ने गरेकोमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको सो ब्यूरोले जनाएको छ ।