पशुपति धर्मशाला छाड्न बतासलाई एक साताको ‘अल्टिमेटम’

काठमाडौँ । बतास समूहलाई नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले एक साताको अल्टिमेटम दिएको छ ।

कोषका सदस्यसचिव मिलनकुमार थापाद्वारा बतास समूहअर्न्तगतको होटल आनन्दलाई बुधबार पत्र पठाएर जेठ मसान्तभित्र धर्मशाला खाली गरेर साँचो बुझाउन भनिएको हो ।नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले यस्तो निर्णय सुनाएको हो ।

बिज्ञापन

बतास समूहको होटल आनन्दलाई चैतमा नै सम्झौता रद्द गर्न भनिएको हो । तर, यो निर्णयपछि बतास समूह काठमाडौँ जिल्ला अदालत पुगेको थियो ।

यसअघि वि.सं. २०७६ जेठ १ गते करार सम्झौता गरेर कोषले धर्मशाला भाडामा दिने निर्णय गरेको थियो । उक्त करार सम्झौता उल्लङ्घन भएको भन्दै वि.सं.२०७८ चैत्र १४ मा रद्द गरिएको थियो । त्यसपछि बतास समूह अदालत पुगेको थियो ।

अदालतले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो । उक्त अन्तरकालीन आदेशविरुद्ध कोषले दिएको निवेदनको सुनुवाइ गर्दै आज न्यायाधीश कोष र बतास समूहबीचको करार भङ्ग भइसकेकाले पुनःहोटल सञ्चालन गर्न दिनु कानुनबमोजिम नहुने उल्लेख गर्दैै अन्तरकालीन आदेश बदर गरिदिएको थियो ।