
काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षा गर्ने बताएका छन् । एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् । अमेरिकाले ताइवानको रक्षा गर्छ त भन्ने प्रश्नमा उनले भने, ‘अवश्य, हामी त्यसको लागि प्रतिबद्ध छौं।’

यद्यपि ह्वाइट हाउसका प्रवक्ताले अमेरिकी सञ्चारमाध्यमसँग अमेरिकाले आफ्नो ताइवानको नीतिमा कुनै परिवर्तन नगरेको बताएका छन् । यसअघि बाइडेनले चिनियाँ समकक्षी सि चिनफिङसँगको वार्तामा ताइवान सम्झौता पालना गर्दै अघि बढ्ने बताएका थिए। ताइवानसँग अमेरिकाको कुनै आधिकारिक कूटनीतिक सम्बन्ध छैन तर उसले ताइवान सम्बन्ध ऐनको आधारमा हतियार बिक्री गरिरहेको छ।



चीनले ताइवानलाई आफ्नो भू–भाग मान्दै आएको छ। आवश्यक परेको अवस्थामा ताइवानलाई बल प्रयोग गरेर भए पनि लिन सकिने संकेत चीनले गर्दै आएको छ। ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै आएको छ।
