
काठमाडौँ : नाइजेरियाको एक अवैध तेल प्रशोधन केन्द्रमा विष्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । नाइजेरियाको रिभर्स राज्यमा रहेको अवैध तेल प्रशोधन केन्द्रमा विष्फोटपछि आगलागी भएको हो। मृत्यु हुनेमा केही अल्पसंख्यक समुदायका मानिसहरु रहेको स्थानीयले जानकारी दिएका छन् ।
प्रहरीले घटना भएको पुष्टि गरे पनि अहिलेसम्म कति मानिसको मृत्य भएको भन्ने नखुलेको बताएको छ। नाइजेरियामा अवैध तेल प्रशोधन केन्द्र सामान्य मानिन्छ। स्थानीयहरुले पाइपलाइनबाट तेल चोरी गरेर प्रशोधन गरी बिक्री गर्छन्। कच्चा तेललाई उनीहरुले ड्रममा राखेर तताएर इन्धन निकाल्ने गर्दै आएका छन्। यसरी तेल प्रशोधन गर्नु निकै जोखिमपूर्ण मानिन्छ।
नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक हो। उसले औसतमा दैनिक दुई लाख ब्यारेल तेल निर्यात गर्दै आएको छ। यसको करिब १० प्रतिशत तेल पाइपलाइन फुटाएर चोरी हुँदै आएको छ। जसको कारण तेल चोरी हुने क्षेत्रमा प्रदूषण पनि ठूलो मात्रामा फैलिएको छ।