
काठमाडौ । सिंहदरबारमा विप्लव शैलीमा चन्दा उठाएको भन्दै चर्को आलोचना भएपछि पाण्डेको कार्यक्रम अहिले बन्द गरिएको छ । प्रधानमन्त्री केपी ओलीले नै त्यो कार्यक्रम बन्द गर्न निर्देशन दिएको बताइन्छ ।
जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द भएपनि पाण्डेले विप्लव शैलीमा चन्दा उठाउने काम रोकेका छैनन् । विष्णु रिमालले फोन गर्ने र पैसा लिन भान्जा भन्दै पाण्डे जाने गरेका छन् ।
भएभरका सबै सरकारी कार्यालयमा प्रधानमन्त्रीको गतिविधि समेट्ने भन्दै पाण्डेले रकम उठाउने गरेको पाइएको छ । सडक विभागमा मात्रै पाण्डेले ४० लाख बराबरको बिल पु¥याएका छन् ।
उनले हरेक मन्त्रालय, विभाग तथा समिति र संस्थानमा समेत रकम माग गर्दै पत्र पठाएको र वृत्तचित्र बनाउने भन्दै प्रपोजल समेत पठाएका छन् ।
‘नदिए विष्णु रिमालले नै फोन गरेर धम्क्याउने गरेका छन् । दिउँ भने कसरी दिनु भन्ने भएको छ’ एक विभागका महानिर्देशकले भने ।
नेत्रविक्रम चन्दले स्थानीय निकायका प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई धम्क्याएर चन्दा उठाए जस्तै पाण्डेले सिंहदरबार र बालुवाटारको आडमा चन्दा उठाएका छन् ।
तर कानून कार्यान्वयन गराउने निकायको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुपचाप रमिता हेरेर बसेको छ । अख्तियारका एक उच्च अधिकारी भन्छन्, ‘कोही कसैले उजुरी गरे कारवाही अगाडि बढाउन सकिन्थ्यो होला, तर हालसम्म कुनै पनि उजुरी परेको छैन ।’