
काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम दिन आज (सोमबार) दुई खेल हुँदैछन् । डिफेण्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) सँग खेल्दा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आर्मी र पुलिसबीचको पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुने छ ।
आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन् । आर्मी साविक उपविजेता टिम समेत हो। आर्मी भरत खवासको कप्तानीमा मैदान उत्रनेछ। पुलिस राम बाजीको कप्तानीमा मैदान उत्रनेछ। यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। मछिन्द्र र एनआरटीबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
उपाधि दाबेदार मछिन्द्र एनआरटीलाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ। सुजल श्रेष्ठको कप्तानी रहेको मछिन्द्र उपाधि रक्षाको योजनामा रहेको छ। यस्तै अजित प्रजापतिको कप्तानीमा रहेको एनआरटी पनि विजयी सुरुआतको लक्ष्यमा रहेको छ।