युरोपमा मार्चसम्ममा ७ लाख व्यक्तिको मृत्यु हुनसक्छः डब्लूएचओ

काठमाडौं विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले अर्को मार्चसम्ममा युरोपेली मुलुकमा सात लाख मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनसक्ने चेतावनी दिएको छ । युरोपेली मुलुकहरुमा त्यहाँको सरकारले गरेको लकडाउनको विरुद्ध आन्दोलन भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।

युरोपेली मुलुकका जनताहरुले खोप नलगाएपछि त्यहाँ कोरोना भाइरसको संक्रमण बढेको कतिपयहरुको बुझाइ छ । डब्लुएचओले कोरोनाको संक्रमणबाट बच्न खोप लगाउन र सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेपनि ती मुलुकहरुमा दिनहुँ जसो प्रदर्शन भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा खबर छ ।
डेल्टा भाइरसको संक्रमण र क्रमशः बढिरहेको चिसोका कारण युरोपेली मुलुकमा कोरोनाको थप जोखिम बढेको छ ।

युरोपेली मुलुकका जनताहरु कोरोना भाइरस संक्रमणका कारण अझै केही महिना घरभित्रै बस्नुपर्ने चेतावनी डब्लूएचओले दिएको छ ।
नेदरल्यान्ड्समा लागू गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भइरहेको छ । हेगमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँकिदिएका थिए ।

उनीहरूले साइकलहरू पनि जलाइदिएको एजेन्सीहरुले उल्लेख गरेका छन् । प्रतिकारमा प्रहरीले गोली चलाएको र केही प्रदर्शनकारी घाइते भएको बताइएको छ ।
अस्ट्रिया, क्रोएशिया र इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएको बीबीसीले जनाएको छ । पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।