
काठमाडाैँ : नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया शुरू हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । संयोजक घिमिरेले भने, ‘काँग्रेसको प्रदेश अधिवेशन पहिलो पटक हुन लागेकाले नेता–कार्यकर्ता उत्साहित भएको पाएको छु।
केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन अधिकृत खटाएको छ। बिहीबारदेखि अधिवेशनको कार्यक्रम शुरू हुन्छ ।’ समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । बिहीबार मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छन् । शुक्रवार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ । काँग्रेस प्रदेश १ कार्यसमितिको नेतृत्वका लागि मोरङको विराटनगरमा अधिवेशन हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक २८ गतेको बैठकले केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा प्रदेश १ का लागि प्रदेश अधिवेशनसँग सम्बन्धित समिति गठन गरेको छ ।
अधिवेशनको तयारी भइरहेको जानकारी मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बूले दिए । निर्वाचन समिति संयोजक भरतबहादुर थापाले बिहीबार दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन हुने जानकारी दिए । यस प्रदेशमा एक हजार ६७१ मतदाता छन् । कार्यसमितिमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री रहने छन् । उनले भने, ‘अधिवेशनले पदाधिकारीसहित ८८ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गर्नेछ ।’प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ । प्रदेश अधिवेशन समितिका संयोजक रमेश रिजालले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । नेता महेशशङ्कर गिरीका अनुसार यस प्रदेशमा एक हजार ९८० मतदाता छन् । उनले भने, ‘३२ प्रतिनिधि सभा क्षेत्र र ६४ प्रदेश सभा निर्वाचन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्रीको प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछन् ।’ त्यसैगरी काँग्रेस बागमती प्रदेश अधिवेशन हेटौँडामा हुँदैछ । प्रदेश अधिवेशन समितिका संयोजक प्रकाशमान सिंहका अनुसार, अधिवेशनका लागि बागमती प्रदेशका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि हेटौँडा पुग्ने क्रम जारी छ ।
काँग्रेस नेता जगदीशनरसिंह केसीले ३३ प्रतिनिधि सभा क्षेत्रका र ६६ प्रदेश सभा क्षेत्रका निर्वाचित प्रतिनिधिले भाग लिने बताए। केसीले भने, ‘बागमती प्रदेशमा काँग्रेसका एक हजार ९६० मतदाता छन्। प्रदेश कार्यसमिति पदाधिकारीसहित ८१ सदस्यीय हुन्छ । त्यसमा हरेक जिल्लाबाट एक पुरुष र एक महिला अनिवार्य हुन्छ । २२ जना खुला र २६ जना समानुपातिक सदस्य रहने छन्। ‘ गण्डकी प्रदेश संयोजक गोपालमान श्रेष्ठले बिहीबारबाट शुरू हुने प्रदेश अधिवेशनको तयारी पूरा भएको बताए । श्रेष्ठले भने, ‘बिहीबार मध्यान्ह १२ः३० मा प्रदेश सभा अधिवेशन उद्घाटन हुन्छ । शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । ‘गण्डकी प्रदेश निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाले १८ वटा प्रतिनिधि सभा र ३६ वटा प्रदेश सभा क्षेत्रबाट निर्वाचित एक हजार १०० भन्दा बढी मतदाताले प्रदेश कार्यसमितिको नेतृत्व चयन गर्ने बताए । त्यसैगरी लुम्बिनी प्रदेशमा पनि अधिवेशनको तयारी भइरहेको छ । गृहमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण प्रदेश अधिवेशनसँग सम्बन्धित समिति संयोजक रहेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन संयोजक डा. बुद्धबहादुर थापाले बिहीबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताए ।
उनले भने, ‘मतदाता नामावली र अधिवेशनसँग सम्बन्धित निर्देशिका केन्द्रीय निर्वाचन समितिले पठाइसकेको छ, हामीले पाएपछि मात्रै मतदाता सङ्ख्या र अन्य विषय सार्वजनिक गर्छौं । ‘त्यसैगरी कर्णाली प्रदेशमा पनि अधिवेशन बिहीबार शुरू हुँदैछ । प्रदेश अधिवेशन समितिका संयोजक जीवनबहादुर शाहीको संयोजकत्वमा अधिवेशनको तयारी चलिरहेको छ । काँग्रेस नेत्री रीता शाहीका अनुसार केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधि गरी कर्णाली प्रदेशमा ७५० मतदाता छन् । पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति यो अधिवेशनले चयन गर्नेछ ।त्यसैगरी सुदूरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा हुँदैछ । काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले प्रदेश अधिवेशन समितिको संयोजन गरिरहेका छन् ।
काँग्रेस नेता नरनारायण शाहका अनुसार अधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा पदाधिकारीसहित ७१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । १६ प्रतिनिधि सभा र ३२ प्रदेश सभा क्षेत्रबाट निर्वाचित ९७५ महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले सुदूरपश्चिम प्रदेश काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् । याे समाचार गोरखापत्र दैनिकमा छ।