
बैतडी । बैतडीको पाटन नगरपालिका–१ सकार थलीमा गएराती जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिकाकी ४० वर्षीया जानकी भट्टराई, १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका छन् ।
मृत्यु भएका प्रेम र मनिषाको १० दिन अघि मात्र विवाह भएको थियो । उनीहरू घरबाट माईतीतर्फ जाँदै गरेका थिए । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । उनीहरू मध्ये दुई जनालाई जिल्ला अस्पताल डडेल्धुरा र बाँकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।
बैतडीको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप दुर्घटना भएको हो । जिपमा ११ जना सवार थिए । जीप चालक पाटन ५ बसन्तरपुरका खेमराज पाण्डेय फरार रहेका छन् । जीप सडकबाट एक सय मिटर तल खसेको छ । कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।