जबरजस्ती विद्यालय खुलाएका ११ सञ्चालक प्रहरीको नियन्त्रणमा, जनकपुरका विद्यालय पनि खुल्लै

जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निर्देशन अवज्ञा गरी विद्यालय खुलाएका ११ सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।अनुगमनका क्रममा विद्यालय सञ्चालन गरेको पाइएपछि सप्तरीका ११ विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिइएकाे सप्तरीका प्रहरी प्रवक्ता डीएसपीस् माधवप्रसाद काफ्ले जानकारी दिए ।

उनका अनुसार शिव इन्टरनेशनल बोर्डिङ्ग स्कुल, ह्यापी ल्याण्ड सेकेण्ड्री स्कुल, लक्ष्मी इण्लिस बोर्डिङ्ग स्कुल, सिर्जना बोर्डिङ्ग स्कुल, ग्रिनल्याण्ड बोर्डिङ्ग स्कुललगायतका विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिइएकाे हो ।नियन्त्रणमा लिइएका सबै सञ्चालकलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी फानिद्रमणि पोखरेलले नियन्त्रणमा लिइएका विद्यालय सञ्चालकहरुमाथि संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने बताए ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट राजविराजसहित कोरोनाको जोखिममा रहेका शहरका शैक्षिक संस्था बन्द गरी पठन पाठनको वैकल्पिक व्यवस्था मिलाउने निर्णय गरेको थियो । त्यसपछि स्थानीय प्रशासन र स्थानीय सरकारले पनि विद्यालय बन्द गर्न निर्देशन दिए पनि राजविराजका विद्यालयहरु सञ्चालनमा थिए ।

यता, प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामका विद्यालय तथा कलेजहरु पनि अझै बन्द भएका छैनन् ।