हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ : मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेर अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आज राति पनि आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

यी प्रदेशका केही स्थानमा हिमपातको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।