बागमती प्रदेशसभा बैठक आज बस्दै

मकवानपुर : बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बैठक बसेको छैन ।

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई र विवेकशील साझाका तीन गरी कुल १०९ सांसद छन् ।