माओवादी महाधिवेशनको उद्घाटन समारोहमा ओली नजाने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् । उदघाटन समारोहमा सहभागी माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ ।

अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पार्टी विभाजनपछि दुई नेता पहिलोपटक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सँगै देखिएका थिए ।

एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड गएका थिएनन् । माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो । माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको हो।