१२ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम उच्च

काठमाडाैँ : कोरोनाको तेस्रो लहर शुरू भएसँगै १२ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको छ। खोप नलगाएका १२ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको हो ।

सरकारले १२ वर्षमाथिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिएको भए पनि सोभन्दामुनिका बालबालिकालाई खोप दिएको छैन । चिकित्सकका अनुसार हाल १२ वर्षमुनिका बालबालिकामा धेरैजसोमा अत्यधिक जिउ दुखाइ, ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस गर्ने, कसैकसैमा टाउको दुखाइ, हल्का बान्ता हुने र पखालालगायतका लक्षण देखिएको छ । बालरोग विशेषज्ञ युनास अन्सारीका अनुसार हाल बहिरंग विभागमा आउने लक्षण भएका ११ वर्षमुनिका बालबालिकाको परीक्षण गर्दा करिब ८० प्रतिशतभन्दा बढीमा कोभिड देखिएको छ। कोरोनाको परीक्षण दर बढाउँदा यो संख्या अझै बढ्न सक्ने डा. अन्सारीले बताए।

कोभिड संक्रमण देखिए पनि बालबालिकामा जटिलखालको समस्या भने अहिलेसम्म नदेखिएको अन्सारीको भनाइ छ। दोस्रो लहरमा कोरोना हुँदा बालबालिका आईसीयू कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था आए पनि अहिलेसम्म कोही पनि आईसीयूमा राखेर उपचार गर्ने अवस्था नआएको उनको भनाइ छ । तर, बालबालिकामा संक्रमण दर भने दैनिक बढिरहेको छ । बिहीबार मात्रै १२ हजारभन्दा बढी कोरोना संक्रमित हुँदा ११ वर्षमुनिका १ सय ८९ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । याे समाचार राजधानी दैनिकमा छ।