
झापा। जिल्लाको एक विद्यालयमा शिक्षक अभावका कारण अहिले सम्म पठ्नपाठन भएको छैन। कुरा हो प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र कमल गाउँपालिका वडा न. १ मा रहेको श्री नरेन्द्र मा.विको। यस विद्यालयमा गत चैत १२ गतेबाट अस्थायी शिक्षक बिदा भए संगै बिषयगत शिक्षकको पद रिक्त रहेको थियो ।
नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा समेत माध्यमिक तहमा पढाउने बिज्ञान बिषयका शिक्षक अभाव भएको हो ।
त्यसो त अभिभावक र विद्यार्थीले समस्या हल गर्नका निमित्त विद्यालय प्रशासन र गाउँपालिकामा जानकारी नगराएका भने हैनन तर चार महिना बितिसक्दा समेत शिक्षक अभाव भएर पठनपाठन प्रभावित हुनु भनेको सरोकारवाला निकायको लाचारीपन देखिन्छ।
नेविसंघको ज्ञापनपत्र
महेन्द्र भट्टराईको नेतृत्वमा गएको नेविसंघको टोलीले विद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ। शिक्षक नियुक्त नगर्नुको कारण सोध्दै उसले विद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा लामो समयसम्म शिक्षक अभावक कारण विद्यार्थीमा पर्न गएको असरलाई गम्भीरताका साथ लिईदिन उसले आग्रह गरेको छ। ज्ञापनपत्र बुझाउदै नेविसंघ नेता भट्टराईले माग पूरा नगरिए आन्दोलन थाल्ने चेतावनी दिएका छ्न।
जवाफमा प्रअ गंगा प्रसाद प्रसाईले नेविसंघले बुझाएको ज्ञापन पत्रमा समेटिएका सबै माग जायज रहेको भन्दै माग पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । नेपाल सरकारको अकर्मण्यताका कारण शिक्षक नियुक्तिमा समस्या भएको हो तर अहिले सम्म जे जति कमजोरी भएपनी अब जिम्मेवार हुँदै चाडै नै शिक्षक नियुक्त गर्ने बिषयमा गम्भीर रहेको बताए।
ज्ञापन पत्र नेविसंघका कमल गा. पा सचिव निसान्त रिमालले वाचन गरेर सुनाएका थिए । ज्ञापन पत्र बुझाउन गएको टोलीमा नेविसंघ नेता महेन्द्र भट्टराई, कमल गा.पाका नेविसंघ सभापति जितेन साम्पाङ, उपसभापति आशिष् लिम्बु, कोषाध्यक्ष रोशन निरौला, नेविसंघका पुर्व जिल्ला सदस्य भिम अधिकारी र नेपाल जनसम्पर्क समिति हङकङका सदस्य शेशेहाङ राई लगायतको उपस्थिति रहेको थियो।