चीनले नेपाली भूमी अतिक्रमण गरेको बीबीसीको खुलासा

काठमाडौं । चीनले नेपालको सीमा अतिक्रमणको प्रयास गरेको खुलेको छ । नेपाल सरकारको गोप्य प्रतिवेदनलाई आधार बनाउँलै उक्त विषयको रहस्योद्घाटन अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी न्युजले गरेको छ ।
चीनले नेपाली भूमि अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन सीमा अध्ययन कार्यदलले नेपाल सरकारलाई बुझाएको खुलेको हो ।

बीबीसी न्यूजले आफूलाई प्राप्त प्रतिवेदनको हवाला दिंदै हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको जनाएको हो ।
नेपाल सरकारको गोप्य प्रतिवेदनअनुसार चीन सरकारले हुम्ला जिल्लास्थित दुई देशको सीमामा पर्ने नेपाली भूमिमा स्थायी नहर बनाउन लागेको बीबीसी न्युजले खुलासा गरेको हो ।

बिज्ञापन

नेपाल सरकारले पहिलो पटक आधिकारिकरुपमा चीनले नेपाली भूमिमाथि अतिक्रमण प्रयास गरेको दाबी गरेको हो । मध्य पश्चिमाञ्चलको सो क्षेत्रमा चीनले अतिक्रमण गरेको दाबी गरेपछि सरकारले गएको असोजमा सो प्रतिवेदन तयार पारेको बीबीसी न्युजले जनाएको छ । सरकारले गत असोजमा सरकारी अधिकारीहरु, विज्ञ र सुरक्षा निकायका प्रतिनिधिहरुसहितको कार्यदल बनाएको थियो ।

उक्त टोलीले स्थलगत निरीक्षणपछि सीमा अतिक्रमण भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
हुम्लाको किट खोला क्षेत्रमा चीनले दीर्घकालीन रुपमा नहर बनाउने र सो क्षेत्रलाई नियन्त्रण गर्ने भएकाले सो क्षेत्रको संरक्षणका लागि कुटनीतिक समाधान आवश्यक रहेको समेत सरकारी प्रतिवेदनमा उल्लेख रहेको बीबीसीको समाचारमा जनाइएको छ ।
सो रिपोर्ट भने हालसम्म नेपाल सरकारले सार्वजनिक गरेको छैन ।

यद्यपि, काठमाडौस्थित चिनियाँ दूतावासले चीनले नेपालको भूमि अतिक्रमण नगरेको दाबी गर्दै आएको छ । नेपाल सरकारले पछिल्लो समय चीनसँग दुईपक्षीय सम्बन्धलाई थप सुधार बनाइरहेको छ ।
नेपाल र चीनको सीमा क्षेत्र करिब १४ किलोमिटरसम्म फैलिएको छ । दुई देशबीच सन् १९६० को सुरुवातमा सीमासम्बन्धी सन्धी भएको थियो । सो सन्धीअनुसार दुई देशबीचको सीमा क्षेत्रको बाँडफाड भएको हो ।
हुम्लाको लालुङजोङसहित सिमा क्षेत्रका नेपालीहरुलाई चिनियाँ सुरक्षाकर्मीले धार्मिक गतिविधिमा समेत प्रतिबन्ध लगाएको पनि प्रतिवेदनमा उल्लेख रहेको दाबी गरिएको छ ।
हिन्दु र बौद्धमार्गीहरुको आस्थाको केन्द्र कैलाश पर्वत नजिक पर्ने उक्त क्षेत्र हुँदै मानिसहरु धार्मिक यात्रा गर्ने गर्दछन् । तर, चीनले सोही क्षेत्रमा अग्लो पर्खाल लगाएको र नेपाली भूमि मिचेर सडक तथा खोल्सो बनाएको पनि प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ ।
प्रतिवेदनले नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा पोस्टहरु राख्न सुझाव दिएको र नेपाली–चीन दुवै देशले यो विवाद समाधान गर्नुपर्ने सुझाव दिइएको छ ।
चिनियाँ बजारमा आश्रित सीमा क्षेत्रका नेपालीहरु भने सिमा मिचिएको विषयमा बोल्नै नचाहने पनि प्रतिवेदनमा उल्लेख गरिएको जनाइएको छ ।